रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी। जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ। वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए।

उनका अनुसार पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न सकेको छैन। रेसुङ्गा‐काठमाडौँ र काठमाडौँ‐रेसुङ्गाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेको बताउँछन्।

मौसममा सुधार नआउँदासम्म नियमित उडानमा समस्या हुने भएकाले यात्रीको सुरक्षालाई ध्यान दिँदै उडान रोकिएको प्रमुख थापाले बताए। गुल्मीको रेसुङ्गा विमानस्थल निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले उडान गर्दै आइरहेको छ। काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे नियमित उडान तालिका छ। 

सोही तालिकाअनुसार निगमले काठमाडौँबाट रेसुङ्गा लागि रु सात हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौँका लागि रु सात हजार तीन सय भाडादर निर्धारण गरेको छ। जिल्लामा गत वर्षदेखि व्यावसायिक रुपमा हवाई उडान सुरु गरिएको थियो।

रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावा चल्ने भएकाले प्राविधिक दृष्टिकोणले बिहान ११ बजेसम्म मात्र उडान भर्न उपयुक्त मानिन्छ। पछिल्लो समयमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ। 

रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि एक वर्षमा एक सय २५ उडान भइसकेका विमानस्थल कार्यालयले जनाएको छ। उक्त विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दूरीमा पर्दछ।