हिन्दुशास्त्रको पुरुषार्थको अवधारणामा जीवनको चारवटा मुख्य खम्बाबारे वर्णन गरेको पाइन्छ । पहिलो धर्म, जसमा दैनिक गर्ने कार्य, नैतिकता, आदर्शका कुराहरु पर्छन् । त्यसपछि आउँछ, अर्थ । अर्थ भनेको काम गरेर वा जीविकोपार्जन गर्ने परिवारलाई चाहिने गाँस, बास र कपासको जोहो गर्नु ।
त्यसपछि आउँछ, काम । काममा यौनको चर्चा गरिन्छ । यौन मात्र नभएर माया, प्रेम, इच्छा र सद्भाव पनि पर्छन् । र, चार नम्बरमा आउँछ, मोक्ष । मोक्ष भनेको समाधि वा आनन्दको प्राप्ति हो ।
यो अवधारणाले के भन्छ भने पहिला धर्म गर्नुपर्छ । त्यसपछि अर्थ र काम भोग गरेर मात्र मानिसलाई मोक्ष प्राप्ति हुन्छ । यो भन्नुको अर्थ के हो भने धर्मशास्त्रले पनि यौन जीवनको लागि अपरिहार्य भनेको छ ।
विज्ञानले पनि यौन सुखले मानिस स्वस्थ रहने कुरामा जोड दिन्छ । यौनले नै सिर्जना र आनन्द दुवै दिन्छ । शरीरको लागि खाना जति आवश्यक छ । त्यति नै यौन जीवन पनि आवश्यक मानिन्छ । कुनै कारणवश यौन जीवनमा समस्या आइरहेको छ भने विस्तारै मानसिक स्वास्थमा प्रभाव पार्न सक्छ ।
यौन उत्तेजना नहुनु, चरमोत्कर्षमा नपुग्नु, शीघ्रपतन वा लामो समयसम्म स्खलन नहुनु, महिलामा हार्मोनल परिवर्तनका कारण यौन चाहना घट्नु, यौन रोगका कारण यौन सम्बन्ध राख्न नसक्नु शारीरिक समस्या मात्र होइन । यसमा मानसिक कारण पनि जिम्मेवार हुनसक्छ ।
यसले के स्पष्ट पार्छ भने यौन जीवन र मानसिक स्वास्थ्यबीच निकट सम्बन्ध छ । यौन शिथिलताले जसरी मानसिक समस्या ल्याउँछ, उसैगरी मानसिक समस्याले यौन उदासीनता पनि ल्याउँछ ।
यदि दम्पतीबीचको सम्बन्ध प्रगाढ छैन, आपसी असमझदारी छ भने त्यसको प्रभाव उनीहरुको यौन जीवनमा पर्छ । ठीक यसैगरी यौन जीवन सुमधुर नहुँदा उनीहरुबीचको भावनात्मक सम्बन्धमा पनि खल्लोपन महसुस हुन्छ । अर्थात् यी एकअर्कासँग अभिन्न रुपले जोडिएका छन् ।
यस्ता यौन समस्याले कसरी मानसिक स्वास्थ्यमा असर गर्छ भन्ने जान्नु भन्दाअघि यौन र मस्तिष्कबीचको सम्बन्धबारे जान्नु आवश्यक हुन्छ ।
प्रतिक्रिया