काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपालको कानुनमा समावेश हुने बताएका छन् ।
बुधबार काठमाडौंस्थित सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले केही दिनमा लामो समयदेखि सशस्त्र प्रहरी जवानले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानुनमा समावेश घोषणा गरे ।
उनले सम्पूर्ण अधिकृतदेखि जवान समेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको उल्लेख गरे । उनले आफू गृहमन्त्री बनिसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानुनी स्थिरतामार्फत थप प्रभावकारी, व्यावसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्ने कुरामा जोड दिइरहेको बताए । सशस्त्र प्रहरी बल नेपालको कानुनलाई केही दिनमै विधेयकका रूपमा संसदमा दर्ता गर्ने बताए ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न सशस्त्र प्रहरी बलले काम गरिरहेको बताए । सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई सङ्गठनले प्राथमिकतामा राखेर कार्य सञ्चालन गरिरहेको बताए ।
हालसम्म नेपालले मर्मत गर्नुपर्ने दुई हजार ३०८ वटा सीमा स्तम्भको मर्मत सम्पन्न गरिसकेको बताउनुभयो। सीमा क्षेत्रका समकक्षी सुरक्षा निकायसँग नियमित बैठक आयोजना गरी सौहद्रपूर्ण साङ्गठनिक समन्वयका साथ सहकार्य गरिरहेको बताए । राज्यको सीमा सुरक्षा पहराले मात्र बलियो नहुने भन्दै सीमा क्षेत्रका नागरिकको मन, मस्तिष्क र विश्वास जितेर परिचालित हुनसके उनीमा समेत सीमा सुरक्षाको सम्बन्धमा जिम्मेवारी बोध हुने उल्लेख गरे ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलका जवानले जागिर नभई सेवा गर्नुपर्ने भावनाका साथ काम गरिरहेको बताए । नागरिकको मन, मस्तिष्क जित्ने अभियानमा सबै लाग्नुपर्ने ध्येयका साथ सशस्त्र प्रहरी बल नेपालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम गरिरहेको बताए ।
प्रतिक्रिया