काठमाडौँ। जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको कुशल नेतृत्वमा नेपाली दूतावासले हालैका दिनहरूमा उल्लेखनीय प्रगतिहरू हासिल गरेको छ । जापानमा रहेका नेपाली समुदायबीच उनको सरलता, जनमुखी सेवा र दूतावासको प्रभावकारी व्यवस्थापनको प्रशंसा बढ्दै गएको छ ।
दूतावासद्वारा आयोजित घुम्ती शिविरहरूले नेपाली समुदायलाई अत्यधिक राहत प्रदान गरेको छ । हालै नागोया शहरमा आयोजित शिविरमार्फत १४०० भन्दा बढी नेपालीले सेवा प्राप्त गरेका छन् । यो संख्यामा १२३० राहदानी नविकरण, १०२ अस्थायी अभिलेख, १५ जन्म दर्ता, र २ कागजात प्रमाणीकरण भएका छन् । नागोयाको शिविरले स्थानीय नेपाली समुदायको सेवा पाउने पहुँचलाई थप सहज बनाएको छ ।
सेवाग्राहीहरूका अनुसार, पहिले दूतावासमा कल नउठ्ने समस्याले समस्या थपेको भए पनि अहिले यसमा सुधार गरिएको छ । दूतावासले सामाजिक सञ्जाल र अन्य माध्यमबाट आफ्ना सेवाहरूको जानकारी दिने तथा समाधान गर्ने अभ्यासले सेवाग्राहीहरूलाई घरमै बसेर सेवा पाउने अवसर प्रदान गरेको छ । यसले दूतावासप्रतिको विश्वासलाई अझ बलियो बनाएको छ ।
जापानी सरकार, समाजसेवी, र बुद्धिजीवीहरूबाट समेत यी प्रयासहरूको उच्च मूल्यांकन भएको छ । विशेषगरी, नेपाली युवाहरू बीच महामहिम सुवेदीको सरल र सहयोगी व्यक्तित्वले लोकप्रियता पाउँदै गएको छ । उनलाई कतिपयले “सबैभन्दा सरल राजदूत” को संज्ञा दिएका छन्।
विदेशमा रहेर पनि नेपाली समुदायको सेवामा समर्पित दूतावासको यो कदमले नेपाल र नेपालीको छवि उजिल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । सेवाग्राहीहरूले आफ्ना आवश्यकताहरू सहज रूपमा पूरा गर्न पाएको अनुभवले नेपालको कूटनीतिक सेवा झन् प्रभावकारी र जनमुखी बन्ने विश्वास दिलाएको छ ।
महामहिम डा. दुर्गा बहादुर सुवेदीको नेतृत्वमा भइरहेको यस्ता जनमुखी प्रयासहरूको निरन्तरताले विदेशमा रहेका नेपालीहरूको जीवनलाई अझ सहज र सहज बनाउनेछ भन्नेमा कुनै शंका छैन ।
प्रतिक्रिया