आगामी अधिवेशनमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन बनाउँछौं: सभामुख

आगामी अधिवेशनमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन बनाउँछौं: सभामुख

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा। पोखरामा मङ्गलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ। सम्मेलनमा सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेश सभाका पदाधिकारीको सहभागिता छ।

सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले संसारमा संसद प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेका उदाहरण रहेको बताए। ‘‘सङ्घीयतालाई बलियो बनाउने कानुन निर्माण गर्न संसदको प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन सकेको छैन,’’ उनले भने।

सभामुख घिमिरेले लामो राजनीतिक आन्दोलनले धेरै व्यवस्थाहरू परिवर्तन गरेको बताउँदै अब निर्माणका लागि सबै शक्ति लगाउनुपर्नेमा जोड दिए। प्रमुख राजनीतिक शक्तिहरूले जिम्मेवारीबोध गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले नागरिकको विकास आकांक्षा पूरा गर्नेतिर केन्द्रित हुन अपिल गरे।

सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरू निर्माण गर्न ढिला भएको बताउँदै सभामुख घिमिरेले आगामी अधिवेशनमा ती विधेयक पारित गर्न संसदले सकारात्मक भूमिका निर्वाह गर्ने बताए। ‘‘आधारभूतरुपमा सङ्घीयताको पक्षमा भएका र संविधान निर्माणमा योगदान गरेका दलहरू नेतृत्वमा रहेकाले संविधान अनुकूल निर्माण गर्नुपर्ने कानुन बन्नेमा आशावादी बन्न सकिन्छ,’’ उनले भने।

सभामुखले संविधान संशोधनको बहसका बिच भएको सङ्घीय संसद र प्रदेश सभासहितको सम्मेलन अर्थपूर्ण रहेको बताए। उनले सङ्घीय संसद र प्रदेश सभालाई प्रभावकारी बनाउन अन्तर व्यवस्थापिका सम्मेलन सफल हुने विश्वास व्यक्त गरे।