काठमाडौँ। कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ। त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो।
पाँचौँ खेलमा तेस्रो जित निकालेसँगै कर्णालीले प्ले अफमा पुग्ने सम्भावना बढाएको छ। जितसँगै कर्णालीले पाँच खेलबाट ६ अङ्क बनाएको छ। यता चोथो खेलमा तेस्रो हार खेपेको पोखराको अघिल्लो यात्रा कठिन बन्दै गएको छ। चार खेलमा तेस्रो हार खेपेको पोखराको दुई अङ्क छ।
जितका लागि एक सय चार रनको मध्यम लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेटको क्षतिमा एक सय ६ रन जोड्दै लक्ष्य पूरा गरेको हो।
कर्णालीका लागि गुलशन झाले अविजित ४९ र चादविक वाल्टनले ४२ रन बनाए। बलिङमा पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले एक एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित १६.३ ओभरका सबै विकेटको क्षतिमा एक सय तीन रन बनायो। पोखराका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिस गौसले २५ रन बनाए। यस्तै रेमोन रेफरले २०, कप्तान कुशल भुर्तेलले र विपिन खत्रीले १०/१० रन जोडे।
पोखरालाई सस्तैमा समेट्न बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए। उनले विकेट लिनेक्रममा पुरा चार ओभर बलिङ गर्दै २८ रन खर्चिए।
युनिस ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एक एक विकेट लिए। यसअघि मङ्गलबार नै भएको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले हराएको थियो।
प्रतिक्रिया