काठमाडौँ। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई ७३ रनले हरायो।
जितका लागि एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५.५ ओभरमा सबै विकेटको क्षतिमा ९४ रनमा समेटियो।
काठमाडौँका लागि स्टेफल स्किनाजीले सर्वाधिक ३७ रन बनाए। यस्तै सुमित महर्जनले १४, भीम सार्की र जेरार्ड इरासमसले १०/१० रन बनाए।
काठमाडौँलाई सस्तैमा समेट्न बलिङमा सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए। उनले ३.५ ओभर बलिङ गर्दै १९ रन खर्खिएर पाँच विकेट लिएका हुन्। अविनाश बोहराले दुई तथा ब्रान्डन म्याकमुलन र सईफ जैफले एक एक विकेट झारे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले ५३ रनको अर्धशतकीय पारी खेले। उनले ३६ बलमा तीन चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएका हुन्। यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४३, ओपनर विनोद भण्डारीले ३५ र सईफ जैफले ११ रन बनाए।
बलिङमा काठमाडौँका रसिद खानले दुई विकेट लिए। साहब आलम, जेरार्ड इरसमस र करण केसीले एक एक विकेट लिए। दोस्रो खेल खेलेको सुदूरपश्चिम लगातार दोस्रो जित हो। यता तेस्रो खेल खेलेको काठमाडौँको यो दोस्रो हार हो।
प्रतिक्रिया