काठमाडौँ। कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुवात गरेको छ।
त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा सुदूरपश्चिमले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ९० रनले हरायो।
सुदूरपश्चिमको यो पहिलो जित हो। विराटनगरले लगातार दोस्रो हार खेपेको छ। यसअघि पहिलो खेलमा विराटनगर जनकपुर बोट्ल्ससँग आठ विकेटले पराजित भएको थियो।
जितका लागि एक सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन मात्र बनाउन सक्यो।
विराटनगरको सुरुवाती ब्याटिङ लाइन कमजोर बन्यो। ओपनर मार्टिन गुप्टिल शुन्य र लोशक बम दुई रनमा आउट भए। निकोलस किर्तनलाई पाँच रनमा गुमाएको विराटनगरका लागि बसिर अहमदले २४ र राजेश पुलामीले १५ रन जोड्दै उकास्ने प्रयास गरे।
त्यस्तै अनिल खरेलले अविजित १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न नसक्दा विराटनगर सस्तैमा समेटियो।
बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिन र अविनाश बोहराले तीन तीन विकेट लिए। ब्रान्डन म्याकमुलेन, इशान पाण्डे र सैफ जेफले एक एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८२ रन बनाएको थियो।
यो योगफ जारी लिगको सबैभन्दा ठूलो योगफल हो।
प्रतिक्रिया