काठमाडौँ। उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु रहेको बताएका छन्।
बिहीबार दिगो पूर्वाधारका लागि जियोटेक्निक्स कार्यक्रमको समुद्घाटन गर्दै उनले नेपालमा जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले धेरै प्रभाव पारेको चर्चा गर्दै नेपालमा जियोटेक्निक्स प्रयोगमा चुनौती देखिएको बताएका हुन्।
‘‘नेपालमा भूकम्प, बाढीपहिरोले कति धेरै असर पारेको छ यसको साथै जलवायु परिवर्तन र ग्लोबल वार्मिङले पनि पछिल्लो समय देशमा धेरै परिवर्तन गरेको छ,’’ उपप्रधानमन्त्री सिंहले भने, ‘‘नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु छन् । सम्मेलनको उद्देश्य भनेको दिगो पूर्वाधारका लागि जियोटेक्निक्सको प्रयोग भन्ने रहेको छ र यो नेपालको सन्दर्भमा अत्यन्तै सान्दर्भिक छ।’’
विकासोन्मुख राष्ट्रको रूपमा नेपाल प्राकृतिक घटनाहरू मात्र नभई पछिल्लो समय अव्यवस्थित सहरीकरण, नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि पीडित हुनुपरेको बताए।
उनले भने, ‘‘मलाई आशा छ कि यो अन्तर्राष्ट्रिय सम्मेलनले हाम्रा युवा र अभ्यास गर्ने भू–प्राविधिक इन्जिनियरहरू र भू–वैज्ञानिकहरूलाई विश्व प्रविधिहरू, दिगो विकासबारे जान्नको लागि उपयुक्त मञ्च प्रदान गर्नेछ।’’
यस सम्मेलनमा २५ भन्दा बढी देशका एक सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र तीन सयभन्दा बढी सहभागी छन् भने सम्मेलनमा १५ जना प्रमुख वक्ता, १६ विशिष्ट वक्ता, ९० भन्दा बढी प्राविधिक पत्रहरू प्रस्तुत हुने आयोजक संस्था नेपाल जियोटेक्निलकल सोसाइटीका अध्यक्ष मन्दिप सुवेदीले जानकारी दिए।
काठमाडौंमा आजबाट सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारसम्म चल्नेछ।
प्रतिक्रिया