काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सानो गौचरन स्टेडियम पुनर्निर्माण सुरु गरेको छ। उपप्रमुख सुनीता डङ्गोलले शिलान्यास गरेर बिहीबारबाट पुनर्निर्माणको काम सुरु गरेकी हुन्। २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आह्वान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपियाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनर्निर्माणको जिम्मेवारी पाएको छ।
स्टेडियम पुनर्निर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताईन्। ‘‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकाससँगै लैजानुपर्छ। यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनर्निर्माण गर्न लागेका हौँ।’’
विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले, यो प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने अपेक्षा राखिन्।
वडामा स्टेडियम पुनर्निर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले धारणा राखे। ‘‘टोलहरु र चोकहरुमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ। यहाँ व्यवस्थित फुटबल ग्राउण्ड निर्माण हुन्छ। भत्केको पुलमा करिब ५ रोपनी क्षेत्रफल जमिनमा बास्केटबल, टेबुलटेनिस, व्याटमिन्टन र फुटसलका लागि पूर्वाधार तयार गरिरहेका छौँ।’’ प्रजापतीले कार्यान्वयनमा आएका योजनाका विषयमा जानकारी गराए।
स्टेडियमको ड्रइङ्, डिजाइन र लागत अनुमान सहरी योजना आयोगले तयार पारेको हो। यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको हो।
स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ। मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ। वरिपरि सीमा पर्खाल हुनेछ। यसमा २८ वटा चारपाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ हुनेछ। स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन्। पहिलो तलामा सात वटा महिलाका लागि र पाँच वटा पुरुषका लागि शौचालय हुनेछन्।
स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, तीन वटा पुरुषका लागि, तीन वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन्।
निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो। यसबाट १६ जना आवेदकले प्रस्ताव पेश गरेका थिए।
छनोट भएको निर्माण पक्षलाई कात्तिक २५ गते कार्यादेश दिइएको छ। यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ। रङ्गशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ । यसमा दर्शक क्षमता एक हजार पाँच सय जनाको हुनेछ।
प्रतिक्रिया