काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेका छन्। सुन्धारास्थित ऐतिहासिक धरहरा परिसरबाट सोमबार बिहान उनले ट्रफी अनावरण गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग [एनपिएल] को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताए।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए। “खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन। खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ। सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहन्छु ’’, हरेक क्लब र खेलाडीका लागि विशेषतायुक्त प्रशंसाका शब्द गुच्छा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, “नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई फेरि पनि स्थापित होस्। नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्। क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो।’’
प्रतिक्रिया