दुर्गमका विद्यार्थीलाई विद्यालय पुग्नै सकस

दुर्गमका विद्यार्थीलाई विद्यालय पुग्नै सकस

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर। जिल्लाको सुदूर उत्तरी याङवरक गाउँपालिका-१ च्याङथापूको खोलाघारीकी सुकमाया राईका नातिनीहरू यस वर्षबाट कक्षा ९ मा पढ्न थालेका छन्। कक्षा ८ सम्म समरजुङमा रहेको विद्यालयमा अध्ययन गरेका उनीहरूले कक्षा ९ भने च्याङथापूको विष्णु माध्यमिक विद्यालयमा अध्ययन गर्नुपर्छ, किनकि समरजुङको विद्यालयमा कक्षा ८ सम्म मात्रै पढाइ हुन्छ।

खोलाघारीदेखि समरजुङ र च्याङथापू पुग्न करिब उस्तै समय लाग्छ। तर समरजुङ गाउँकै बाटो हुँदै पुग्छन्। च्याङथापु पुग्न भने शुकमायाको घरभन्दा झन्डै २०० मिटर तल रहेको मेवा खोला पाँच पटक तर्नु पर्छ।

नातिनीहरू माथिल्लो कक्षामा पुगेर पढ्न थालेको खुसीभन्दा विद्यालय कसरी पुग्लान र कसरी फर्कलान भन्ने पिर शुकमायाको छ। “यसपालिको बर्खामा त पानी कम परेकाले घरबाटै धाए। अर्को बर्खा यसपालि जस्तो नहोला”, उनले भनिन्, “आउँदो वर्ष डेरा बसाउनु पर्ला। बाटो छैन, पुल पनि छैन। भएको पुल पनि बाढीले बगायो।”

खोलाघारीकै राजेश राईका छोराछोरी पनि च्याङथापूमै पढ्दै आएका छन्। उनले आफ्ना छोराछोरीलाई च्याङथापूमै डेरामा राखेर पढाउन खोजेका थिए। तर छोराछोरीले अन्यसँग डेरामा बसेर पढ्न नरुचाएपछि घरैबाट धाउने गरेको उनको भनाइ छ। “बाढीले बाटो बगाएपछि विद्यार्थीहरूलाई एकदमै गाह्रो छ। बर्खामा पानी थपिनासाथ फड्के बगाउँछ”, उनले भने, “त्यसैले बर्खा र पानी परेको समयमा हामी नानीहरूलाई स्कुल पठाउँदैनौँ।”

हुन पनि यहाँबाट करिब सवा घण्टा पैदल यात्रा गरेर च्याङथापू पुग्न मेवा खोला दुई स्थानमा झोलुङ्गे पुल तथा तीन स्थानमा फड्के तर्नुपर्छ। बालबालिकाहरूलाई दुईतीन वटा बाँस वा रुख तेर्स्याएर बनाइएको फड्के गर्न कठिन पर्छ। त्यसमा पनि एउटा झोलुङ्गे पुल बाढीले हिर्काएर जोखिमपूर्ण बनेको छ। “नानीहरू स्कुल जाने बाटो छैन। नानीहरूलाई स्कुल नपठाऔँ भने पढाई बिग्रने भयो”, पिर मान्दै राजेशले भने, “पठाऔँ भने फर्केर आउलान् कि नआउलान् भन्ने तनाव हुन्छ।”

याङवरक १ को मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा झरेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा यहाँ मानिस हिँड्ने गोरेटो बाटोसमेत छैन। यसकारण यहाँका मगरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका विद्यार्थीहरू अत्यधिक प्रभावित बनेका छन्।

च्याङथापु बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने मोटरबाटोले यी बस्तीहरूलाई समेटेको थियो। गत वर्षको असार २ गते आएको बाढीले उक्त सडकको मेवा खोलाको किनारामा पर्ने झन्डै तीन किलोमिटर मोटरबाटो बगाएको छ। मोटरबाटो नै यी बस्तीबाट च्याङथापू पुग्ने पैदल मार्ग समेत थियो। बाढीले दशकौँदेखिको गोरेटो बाटोसमेत क्षतिग्रस्त बनाउँदा बालबालिकाहरू विद्यालय जान समेत कठिन परेको हो।

पहिरो प्रभावित क्षेत्र ‘चोक’का जसमान राईले आफ्नो कान्छो छोरालाई च्याङथापूमै डेरा खोजेर पढाउँदै आएका छन्। “कान्छो छोरा च्याङथापूमै बसेर पढ्छ। घरबाट विद्यालय जान र फर्कन कठिन भयो”, उनले भने, “चोककै अशोक राईको परिवार अहिले च्याङथापु बसाइँ सरेको छ।” अशोककी श्रीमती धनकुमारीले भनिन्, “घर बस्न जोखिमपूर्ण भयो। हिउँदमा त बस्न सकिन्छ तर पहिरोको झझल्को आइरहन्छ। खास समस्या चाहिँ बालबालिका पढाउन मुस्किल भयो। त्यसैले यता आएर बसेका छौँ।”

याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार आफ्ना बालबालिकाहरूलाई पढाउनकै लागि यी क्षेत्रबाट कतिपय मानिसहरू बसाइँ सरेका छन्। “कोही च्याङथापू झरेका छन् भने कोही झापा नै पुगे”, उनले भने, “सानो नानी हुने धेरै जनाले अहिले गाउँ छोडिसकेका छन्।” फड्के तरेर स–साना बालबालिका विद्यालय पुग्न र फर्कन डरमर्दो अवस्था रहेको वडाध्यक्ष राई बताउँछन्। “विद्यालय गएका छोराछोरी घर फर्कन टुङ्गो नहुने भएपछि गाउँ छोड्ने नै भए”, उनले भने।

२०८० साल असार २ गते आएको बाढीले मेवा खोलाको तटीय क्षेत्रमा क्षति पुर्‍याएको थियो। अत्यधिक वर्षापछि यत्रतत्र पहिरो जाँदा बस्ती बसेदेखि हालसम्म मानिस हिँड्ने गरेको खोला किनाराको गोरेटो बाटो समेत बगाएको स्थानीयवासी पञ्चध्वज राईको भनाइ छ।