रामपुर (पाल्पा)। जिल्लाको रम्भा गाउँपालिका –३, मा ट्रक अनियन्त्रित भई अर्को ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। ठक्कर दिने ट्रक चालक रम्भा गाउँपालिका –३ पाल्पाका २३ वर्षीय भुवनसिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार राति १०ः५० को समयमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रकले ब्रेक फेल भइ सोही दिशातर्फ जाँदै गरेको ना १ क ७१२१ नम्बरको ट्रकलाई सिद्धार्थ राजमार्गअन्तर्गत अगाहाखोलामा पछाडीबाट ठक्कर दिँदा लु १ ख ९३५१ नम्बरको ट्रक चालक राना घाइते भएका थिए।
प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट गएको ट्राफिक प्रहरीसहितको टोलीले चालकलाई उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएको थियो। चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
दुर्घटनामा ना १ क ७१२१ नम्बरको ट्रकको सह–चालक वालिङ नगरपालिका –१० स्याङ्जाका २१ वर्षीय सन्जित खवास थापा घाइते भएका छन्। घाइते थापाको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए। उनका अनुसार ना १ क ७१२१ नम्बरको ट्रक चालक वालिङ नगरपालिका –९ बस्ने बर्ष ५६ को गुप्तबहादुर गुरुङ सकुशल रहेको छन्।
प्रतिक्रिया