खोटाङ। खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष नौ महिनासम्म अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा ताला लगाइएको छ। वडाध्यक्ष अमेरिका बसेकाले सेवाग्राहीलाई समस्या भएको भन्दै सर्वपक्षीय राजनीतिक समितिले वडामा ताला लगाएको हो।
नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल २०८० माघ १९ गते अमेरिका गएका थिए। हालसम्म पनि नर्फिएपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले बुधबार वडा कार्यालयमा ताला लगाएको हो।
जनताको सेवा गर्न निर्वाचित वडाध्यक्ष अमेरिकामा बसेर उल्टै जनतालाई दुःख दिएको भन्दै वडा कार्यालयमा ताला लगाइएको पूर्ववडाध्यक्ष भट्टराईको भनाइ छ।
२०८० माघ १७ गतेदेखि वडा कार्यालयमा अनुपस्थित वडाध्यक्ष कटवाले राजीनामा दिएर आसन्न उपनिर्वाचन हुन बाटो खुलाउनुपर्ने सर्वपक्षीय समितिको माग छ। हाल मात्तिमका वडा सदस्य भीमबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिइएको छ।
गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको थियो।
प्रतिक्रिया