काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएका छन्।
बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको बताएका हुन्।
उनले मुलुक संघीयताको अभ्यासमा गएको भए पनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारका बिचमा अन्यौलता सिर्जना भइरहेको बताए।
उनले स्थानीय तह र प्रदेश सरकारले पनि संविधानको मर्म अनुसार काम गर्न नसकेको बताए। उनले पालिकालाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताए।
प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने उनले बताए। प्रदेश सभालाई गाउँपालिकाका सदस्य रहेको विधायकी थलो बनाउनुपर्ने उनको भनाइ छ। उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल भने विज्ञको बनाउनुपर्ने बताए।
उनले समावेशी, समानुपातिकको प्रतिनिधित्व संविधानले परिकल्पना गरे अनुरुप हुन नसकेको भन्दै यसप्रति धेरै प्रश्न रहेका बताए।
प्रतिक्रिया