माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा

माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका अवसरमा माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको छ।  इन्द्रजात्राको मुख्य दिन मङ्गलबार तल्लोटोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा भएको गुठी संस्थान धार्मिक शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।

यही असोज ५ गते शनिबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ। सोहीदिन बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलले हनुमानढोका दरबार गएर कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन्। टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा समेत छ।असोज ५ गते राति १०:३१ बजे इन्द्रध्वजपातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ। इन्द्रध्वजपातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ। लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ। 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया शुरु हुन्छ। वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ। इन्द्रजात्रा प्रताप मल्लको पालामा शुरु भएको विश्वास गरिन्छ। इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले शुरु गरेका थिए। 

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको जात्राका अवसरमा विधिपूर्वक पूजा आजा पनि गरिएको थियो। जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुनेगर्छ। यो क्रम असोज ५ गते अर्थात् आश्विन कृष्ण चौथीसम्म जारी रहने गुठी संस्थानले जनाएको छ। इन्द्रजात्राका कारण अहिले वसन्तपुर दरबार क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको घुइचो लागेको छ।