काठमाडौँ। नेपाली कांग्रेसका सांसद डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन्।
सोमबार काठमाडौंमा विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सांसद कोइरालाले यस पटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताए। उनले बिपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरेको पनि बताए।
उनले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको बताए। उनले ठूलो मान्छे नभइ असल मान्छे हुनुपर्नेमा बिपीले जोड दिएको स्मरण गर्दै असल मान्छे हुन पनि कठिन रहेको बताए।
‘‘बिपीको छोरो हुने बित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले। कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नै पर्दैन। पाँच चोटी त चुनाव जितेँ। त्यसैले यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्ला जस्तो लागेको छ। अब त्यो त भविष्यले भन्छ । मैले बिपीको बारेमा भन्दा उहाँ भन्नुहुन्थ्यो, ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ।’’ सांसद कोइरालाले भने, ‘‘त्यो पनि एकदम गाह्रो रहेछ फेरि। भन्दाखेरी कति सजिलो छ। असल बन्नु भनेको अत्यन्त गाह्रो हो। सबैको आदर, सम्मान गर्नुपर्छ। त्यो मबाट हुनै सक्दैन जस्तो लाग्छ मलाई। किनभने अरुहरुमा त्रुटि देख्छु। त्यसलाई कोट्यायो भने अपमान हुन्छ, त्यो गर्नु हुँदैन। त्यसैले गाह्रो छ।’’
सांसद कोइरालाले बिपी व्यक्तिभन्दा पनि एउटा विचार भएको उल्लेख गरे।
प्रतिक्रिया