राष्ट्रियसभामा नियमित शून्य समय चलाइने

राष्ट्रियसभामा नियमित शून्य समय चलाइने

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सङ्घीय संसद अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको छ। आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अब बैठकमा शून्य समय नियमित चलाउनेबारे कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको जानकारी गराएका हुन्। 

यसअघि राष्ट्रियसभामा सातामा तीन दिन शून्य समय चलाइने गरेको थियो। आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसदहरुले दलित समुदायमाथिको विभेद नहटेको, बर्खायाममा देशभर बाढी, डुबान तथा पहिरोलगायत समस्या सिर्जना भएको विषय उठाए। राष्टियसभाको आजको बैठकमा सांसदहरु पदमबहादुर परियार र विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथिको विभेद अन्त्य हुन नसकेको बताए।

सांसद रुक्मिणी कोइरालाले ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्धभत्तालाई उनीहरुको घरघरमा पुर्याउनुपर्ने व्यवस्था कार्यान्वयन गरिनुपर्ने धारणा राखिन्। सांसद रेणु चन्दले देशभरका विभिन्न स्थानमा बाढी र पहिरोका कारण तटबन्ध भत्किएको र विभिन्न स्थानका बस्तीहरु असुरक्षित भएको विषयमा सरकारको ध्यानाकर्षण गराईन्। 

सांसद विष्णुकुमारी सापकोटाले बाढी र पहिरोका कारण ज्यान गुमाउनेहरुका परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने, घाइतेको स्वास्थ्य उपचार र विस्थापितलाई पुनःस्थापना गरिनुपर्ने बताईन्। सांसद कृष्णप्रसाद अधिकारीले नुवाकोटको बञ्चरेडाँडास्थित ‘ल्यान्डफिल्ड साइट’ वरपरका बस्तीहरु विभिन्न रोगको जोखिममा रहेको विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराए।