डेंगुको रोकथामका उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

डेंगुको रोकथामका उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमणबाट बच्न डेंगुको रोकथामका उपाय अपनाउन आग्रह गरेको छ।

लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगका बिरामीहरु नेपालमा केही सयम यता बढिरहेकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो। लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, झुलभित्र मात्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न मन्त्रालयको आग्रह छ।

त्यस्तै, घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट, फुलदानी कुलर आदिको पानी कम्तीमा हप्तामा एक पटक फेर्न मन्त्रालयले अनुरोध गरेको छ। 

मन्त्रालयले पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न, साँझ र बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म नेपालका ७३ जिल्लाबाट दुई हजार ३६५ डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार डेंगु सङ्क्रमण एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। डा. चालिसेका अनुसार एकासी उच्च ज्वरो आउने, मांसपेशी, टाउको तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वान्ता हुने डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन्। चिकित्सकका अनुुसार लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु रोगबाट बच्ने एक मात्र उपाय हो।