सहकारी ठगी प्रकरण: आजै थुनछेक सम्बन्धि आदेश आउने सम्भावना

सहकारी ठगी प्रकरण: आजै थुनछेक सम्बन्धि आदेश आउने सम्भावना

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेखनाथ। रवि लामिछाने जोडिएको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दाको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सात जना प्रतिवादी र सरकारी पक्षको बहस बुधवार सकिएको छ । बुधवारै जवाफी बहस सुरु भएको थियो । बुधवार जाहेरवाला सहकारी पीडित पक्षका कानुन व्यवसायीहरूले प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले उठाएका सवालहरूको जवाफ दिएका थिए ।

बिहीबार सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ । अदालतका स्रेस्तेदार राजन खनालले बिहीबार बाँकी जवाफी बहस हुने जानकारी दिए । “बुधवार जाहेरवालाको तर्फबाट जवाफी बहस भएकोमा बिहीबार सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ,” स्रेस्तेदार खनालले भने, “सम्भवतः आजै नभए शुक्रवारसम्म इजलासले आदेश गर्न सक्छ ।”

न्यायाधीश नीतिज राईको इजलासले जवाफी बहसपछि प्रतिवादीहरूलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय लिनेछ । न्यायाधीश नीतिज राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दामा थुनछेक बहस जारी छ ।

लामिछानेसहितले सूर्य दर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । लामिछाने गोरखा मिडियाको पूर्व प्रबन्ध निर्देशक र सेयर सदस्य हुन् । अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मीना गुरुङ, आरती गुरुङ छन् ।

लामिछानेसहितका प्रतिवादीमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोग पत्र दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले सूर्य दर्शन सहकारीको रकम ठगी प्रकरणमा पूरक र थप गरी अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । प्रतिवादीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ ।