काठमाडौँ। तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धि तामाङको निर्माण रहने चलचित्र ‘कुस्ती’ घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रको सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगर देखिएका छन् । फिल्ममा धीरज र मिरुनासँगै बुद्धि तामाङको पनि अभिनय रहने छ ।
अनुशा सिनेमावुड पिक्चर्स प्रालिको ब्यानरमा बन्ने चलचित्र ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेमकथा देखाइने निर्देशक योञ्जनले बताए। उनले भने, “उनीहरू एकअर्कालाई धेरै माया गर्छन् तर आआफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहने छ ।”
कलाकार बुद्धि तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए । उनले भने, “म यसै क्षेत्रमा छु । यस पटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताका रूपमा अगाडि आएको छु । यस पटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु । हामी फिल्मको विषयमा अन्य जानकारी र टिमको परिचय विस्तारै दिने छौँ ।”
उनले छुट्टिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेमकथा हो ‘कुस्ती’ रहेको बताए । काठमाडौँ रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुने छ ।
प्रतिक्रिया