नेपाल पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन्। आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो।

प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन्। 

शर्माले विष्टलाई एक हजार बढि मतको अन्तरमा पराजित गरेकी हुन्। अध्यक्षका अर्का उम्मेदवार देवी प्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत पाएका थिए।

बरिष्ठ उपाध्यक्षमा दीपक उपाध्याय विजयी हुँदा उपाध्यक्ष महिलामा निनु पण्डित उपाध्यक्ष समावेशीमा उमिद प्रसाद बागचन विजयी भए। आचार्यले ४२३० पण्डितले ४७०५ र बागचनले ४२९२ मत पाएका छन्।

त्यस्तै महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन्। उनी निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै महासङ्घको महासचिवमा निर्वाचित भएका हुन्।

विजयी भएका दाहालले ४ हजार ८४ मत प्राप्त गरे भने न्यौपानेले १ हजार ९२९ मत गरेका थिए। यसैगरी सोही पदमा उम्मेदवार जन्मदेव जैशीले १ हजार १५८ मत प्राप्त गर्दा प्रकाश थापाले ४८८ मत प्राप्त गरे।

खुल्ला सचिवमा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा,सचिव आदिवासी जनजातिमा सविन प्रियासन, सचिव मधेसीमा अशोक कुमार तिवारी, सचिव दलितमा प्रकाश धौलाकोटी र सचिव एसोसियटमा वैकुण्ठराज पराजुली विजयी भएका छन्। त्यस्तै कोषाध्यक्षमा रामकृष्ण अधिकारी विजयी भएका छन्।