काठमाडौँ। सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा रहँदै एक खेल अगाडि नै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले यसअघिनै प्लेअफ होडबाट बाहिरिएको पोखरा एभेन्जर्सलाई पाँच रनले हरायो।
जितसँगै सुदूरपश्चिमले ६ खेलबाट १० अङ्क बनाएको बनाएको छ। समान १० अङ्कसहित दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगेको छ।
यस्तै सात खेलबाट आठ अङ्क बनाएको चितवन टाइगर नेट रनरेटका आधारमा प्लेअफमा पुगेको छ। सुदूरपश्चिमले लिगको अन्तिम खेल सोमबार कर्णाली याक्ससँग खेल्नेछ। यस खेलपछि प्लेअफमा पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ।
जितका लागि एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५८ रनमा समेटियो। पोखराका लागि एन्ड्रिस गौसले सर्वाधिक ३६ रन बनाए। यस्तै रेमोन रिफरले ३३, करण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए।
बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिनले पाँच विकेट लिए। उनले विकेट लिने क्रममा ३.४ ओभर बलिङ गर्दै १८ रन खर्चिए। यस्तै हरमित सिंहले तीन तथा सईफ जैवले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५३ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि आरिस शेखले ३८ बलमा दुई चौका र एक छक्काको मद्दतले अविजित ४२ रन बनाए। यस्तै ब्रान्डन म्याकमुलनले २३, कप्तान दिपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४ र हरमित सिंहले १३ रन जोडे।
बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए। यस्तै रेमोन रिफर, सागर ढकाल र माइकल लिस्कले एक एक विकेट लिए।
प्रतिक्रिया