एनपिएल: सुपर ओभरमा पोखरासँग १३ रनले हार्‍यो विराटनगर

एनपिएल: सुपर ओभरमा पोखरासँग १३ रनले हार्‍यो विराटनगर

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्ससँग सुपर ओभरमा १३ रनले पराजित भएको छ।

रोमाञ्चक खेलको सुपर ओभरमा पोखराका लागि रेमन रेफरले १७ र एन्ड्रिस गौसले एक रन बनाए। जवाफमा पाँच रन बनाएको विराटनगरका लागि मार्टिन गुप्टिल र निकोलश किर्तनले दुई दुई रन बनाए। विराटनगरले अतिरिक्त एक रन पाएको थियो।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरासँग हार खेपेपछि सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ।

जितसँगै पोखराले प्ले अफ पुग्ने आशा जगाएको छ। पाँचौँ खेलमा दोसो जित निकालेको पोखराको चार अङ्क पुगेको छ। समान खेलमा चौथो हार खेपेको विराटनगरको दुई अङ्क छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको पोखारले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३९ नै रन बनाएपछि खेल सुपर ओभरमा गएको हो।

सुपरओभर अघि पोखराका लागि एन्ड्रिस गौसले सर्वाधिक ३९ रन बनाए। यस्तै रेमन रेफरले अविजित ३४, कप्तान कुशल भुर्तेलले ३१, ओपनर दिनेश खरेल र मिचेल लिस्कले ११ ११ रन बनाए।

बलिङमा विराटनगरका प्रतिश जिसीले चार विकेट लिए। उनले विकेट लिने क्रममा पूरा चार ओभर बलिङ गर्दै १८ रन खर्चिए। चार्स सोलले दुई विकेट झारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सता विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो। विराटनगरका लागि स्कर्ट इडवार्डले सर्वाधिक ४५ रन बनाए। यस्तै ओपनर लाकेश बमले २६, बसिर अहमदले अविजित २१ र निकोलश किर्तनले १९ रन बनाए।

बलिङमा पोखराका सागर ढकाल र रेमन रेफरले दुई दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक एक विकेट लिए। बिहीबारनै अर्को खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबिच प्रतिस्पर्धा हुनेछ।