काठमाडौँ। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि जनकपुर बोल्ट्सलाई एक सय २४ रनको सामान्य लक्ष्य दिएको छ।
त्रिवि मैदान कीर्तिपुरमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरका नौ विकेटको क्षतिमा एक सय २३ रन बनायो।
सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारीले ३३ र सईफ जैवले २१ रन बनाए। यस्तै इसान पाण्डेले १७ र ब्रान्डन म्याकमुलनले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
सुदूरलाई सस्तैमा रोक्न बलिङमा जनकपुरका किशोर महतोले चार विकेट लिए। उनले विकेट लिने क्रममा चार ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चिए। यस्तै सेर मल्ल र अरनिको यादवले दुई दुई विकेट लिए। हर्ष थाकरले एक विकेट झारे।
जारी लिगका जनकपुर र सुदूरपश्चिम बलिया टोली हुन्। यसअघि चारवटै खेलमा अपराजित जनकपुर आफ्नो अपराजित लयलाई जारी राख्ने अभियानमा छ। यस्तै चार खेलका तीन जित निकाल्दै दोस्रो स्थानमा रहेको सुदूरपश्चिम आज अनकपुरलाई रोक्दै अगाडि बढ्ने लक्ष्यमा छ।
सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हर्मीत सिंहलाई अनुबन्ध गरेर बुधबारदेखिनै मैदानमा उतारेको छ। अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी-२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका सिंह सोमबार नेपाल आइपुगेका हुन्।
भारतबाट यु-१९ विश्वकप जितेका सिंहको आगमनसँगै सुदूरपश्चिमले थप बलियो बनेको दाबी गरेको छ। तर सिंह बुधबार एक रन जोड्दै पेभेलियन फर्किए।
प्रतिक्रिया