पूर्णिमा मेला: कमला नदीमा भक्तजनको घुइँचो

पूर्णिमा मेला: कमला नदीमा भक्तजनको घुइँचो

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम। पूर्णिमा अवसरमा कमला नदीको तटमा प्रत्येक वर्ष लाग्ने पूर्णिमा (भूत) मेलामा सहभागी हुन यस वर्ष पनि भक्तजनहरूको घुइँचो लागेको छ।

कात्तिक पूर्णिमाका अवसरमा धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदिमा प्रत्येक वर्ष लाग्ने भूत मेलामा सहभागी हुने भक्तजनहरूको घुइँचोले मेलाको आकर्षण बढाउँदै गएको हो ।

धार्मिक आस्थासँग जोडिएको उक्त मेलामा नेपालको धनुषा, महोत्तरी, सिरहा विभिन्न स्थान तथा भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालुभक्तजनहरू सहभागी हुन पूर्णिमाको अघिल्लो दिन नै आउने गर्दछन् । विशेष गरी कार्तिक पूर्णिमाका दिन स्नान, पूजा–पाठ र दान गर्ने परम्परालाई धार्मिक र सांस्कृतिक महत्वको रूपमा लिइने हुँदा मेला स्थलमा सहभागी हुन महिला, पुरुष र बालबालिका समेत उपस्थिति हुन मेलामा आएका छन् ।

पूर्णिमाको अवसरमा लाग्ने उक्त मेलामा नयाँ सिकारु धामी झाँक्रीहरु आ–आफ्ना गुरुबाट दिक्षा लिई कमला नदीमा स्नान गरी कमलेश्वरी माताको पूजा अराधना गरी देउता अर्थात् भूत (धामी) खेल्ने धार्मिक परम्परा रहेको छ । सो दिन कमला नदीमा लाग्ने मेलामा हजारौँको संख्यामा धामी झाँक्रीहरुसमेतको उपस्थिति हुने गर्छन् । भूत मेलालाई स्थानीय परम्परा र धार्मिक आस्थासँग जोडिएको एक अद्वितीय सांस्कृतिक पर्व समेत मानिन्छ ।

धार्मिक मान्यता अनुसार, अकालमा मृत्यु भएका मानिसहरूको आत्माले शान्ति नपाएमा उनीहरूले समस्यामा पारेको अनुभव हुने गर्छ । यस्तो आत्मालाई शान्ति दिनको लागि र आफ्नो जीवनमा शान्ति र सुख प्राप्त गर्न, मानिसहरू यस मेलामा उपस्थित हुने गर्छन् ।

यस्तै, मेला अवधिभर नदी किनारमा धूप, दीप र पकवानहरू राखेर पूजा गरिन्छ । मेलामा सहभागी पण्डितहरूले विशेष मन्त्र उच्चारण गर्दै पूजा विधि सञ्चालन गर्छन् । मृत आफन्तहरूको सम्झनामा दीयो बाल्ने र नदीमा बगाउने परम्परा छ । यसलाई मृतकप्रतिको श्रद्धा व्यक्त गर्ने एक माध्यम पनि मानिन्छ ।

पूर्णिमाका दिन कमलामा आउजाउ गर्ने भक्तजनहरुको घुइँचो लाग्ने हुँदा कमला क्षेत्र वरपरका स्थानीय तहले बिहीबार र शुक्रबार विदाको समेत दिएका छन् भने स्थानीय तहबाटै विभिन्न स्थानमा स्वास्थ्य विशिरको पनि व्यवस्था गरिएको छ ।