सुरक्षा परिषद्को प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुनेछ: राष्ट्रपति पौडेल

सुरक्षा परिषद्को प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुनेछ: राष्ट्रपति पौडेल

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समग्र सुरक्षा चुनौती तथा सम्बोधन गर्नुपर्ने प्रमुख विषयलाई समेटी तयार भएको राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले प्रतिवेदनमा औँल्याइएका विषय कार्यान्वयन गर्न सम्बन्धित सबै निकाय र पदाधिकारीले पूर्ण प्रतिबद्धताका साथ काम गर्ने विश्वास व्यक्त गरे।

सो क्रममा राष्ट्रपति पौडेलले प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षलगायत प्रतिवेदन तयार गर्ने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको परिषद्का सदस्यसचिव एवं रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले जानकारी दिए। प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा परिषद्बाट भएका निर्णय, सम्पादित प्रमुख कार्यको विवरण तथा अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं राष्ट्रिय सुरक्षा विश्लेषण समाविष्ट छ।

वार्षिक प्रतिवेदन पेस गर्दै परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा परिस्थितिका आयाम र त्यसबाट उत्पन्न चुनौतीका स्वरुप समय प्रवाहसँगै परिवर्तन हुन गइरहेको स्पष्ट पारे। उनले मुख्य शक्ति राष्ट्र र क्षेत्रीय शक्ति राष्ट्रबीच आर्थिक, सामरिक र रणनीतिक प्रतिस्पर्धाको होडबाजीका कारण अन्य राष्ट्रको वैदेशिक, आर्थिक तथा सम्बन्ध सन्तुलन नीतिहरु क्रमशः प्रभावित हुँदै गइरहेको बताए।

प्रधानमन्त्रीले भने, “विश्वमा हाल भइरहेका विभिन्न युद्ध, द्वन्द्व र अन्तर्राष्ट्रिय सामुद्रिक पारवहन मार्गमा देखिएको द्वन्द्वका कारण विश्व सुरक्षा परिवेशमा नयाँ स्वरुप देखिने सम्भावना रहेको छ।” उनले हालका दिनमा सूचना प्रविधिको द्रुततर र अभूतपूर्व विकासले विश्वको आर्थिक सामाजिक विकासमा ठूलो सहयोग पुग्नुका साथै सुरक्षा क्षेत्रमा थप जटिलता र चुनौतीसमेत सिर्जना गरेको स्पष्ट पारे।