आँधीका कारण नौ जनाको मृत्यु

आँधीका कारण नौ जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हा लोङ (भियतनाम)। दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा भियतनाममा आइतबारसम्ममा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

आँधीका कारण भियतनामको विभिन्न तटीय क्षेत्रमा भवनका छाना उडाएको, डुङ्गा डुबाएको र पहिरो गएको बताइएको छ। उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा आइतबार बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै भिएनएक्सप्रेसले भनेको छ, “यागीले ल्याएको केही घण्टाको भारी वर्षापछि मध्यराततिर पहिरो गई एक घरलाई पुरेको छ। घटनामा ५१ वर्षीय एक पुरुषले भागेर ज्यान बचाउन सफल भएको तर उनकी श्रीमती, छोरी र दुई नातिनातिना पुरिएका थिए।

उत्तरी भियतनाममा शनिबार १४९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले भौतिक संरचनामा व्यापक क्षति गर्नुका साथै ठाउँठाउँमा रूखहरू ढालेको छ।

शनिबार हुरीले घरका छानालाई उडाएर टाढाटाढासम्म पुर्‍याएको र हुरीका कारण भएका दुर्घटनामा चार जनाको मृत्यु भएको विपद् व्यवस्थापन अधिकारीले बताएका छन्।

हाई डुओङ प्रान्तमा शुक्रबार आएको हावाहुरीका कारण एउटा रुख ढलेर एक व्यक्तिको मृत्यु भएको थियो।

बन्दरगाह सहर हाइ फोङका धेरै क्षेत्रमा आइतबार बाढीको पानी आधा मिटर (१.६ फिट) सम्म जमेको र बिजुलीको लाइन र खम्बामा क्षति पुगेको छ।

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हा लोङ बेमा आइतबार बिहान भएको क्षतिको अध्ययन गर्दा मछुवाहरू स्तब्ध भएका थिए।

स्थानीय बासिन्दाका अनुसार तुआन चाउ टापुमा रहेको हाई औ नामक डुङ्गा पार्किङ गर्ने स्थानमा कम्तीमा २३ वटा डुङ्गामा गम्भीर क्षति पुगेको छ।

भियतनामभन्दा पहिले दक्षिणी चीन र फिलिपिन्समा निम्त्याएको विपत्तिमा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए।