रामेछापमा पहिरो: ६ जनाको शव फेला, ४ जनाको खोजी हुँदै

रामेछापमा पहिरो: ६ जनाको शव फेला, ४ जनाको खोजी हुँदै

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप। रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा हराएका मध्ये ६ जनाको लास भेटिएको छ। एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। अविरल वर्षापछि शनिवार राति ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये अहिलेसम्म ६ जनाको लास भेटिएको, एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको र बाकी ४ जनाको खोजी भइरहेको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कँडेलले जानकारी दिए। 

अहिलेसम्म भिमबादुर थापामगरको घरमा पहिरोले पुरिएका दोरम्बा सैलुङ गाउँपालिका.–३ लेखखर्क की ३० वर्षकी चण्डिका श्रेष्ठ उनका १८ महिनाको बालक आमुष श्रेष्ठको लास भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

त्यसै गरी उर्मिला पहरीको घरमा पुरिएका घर धनी ५७ वर्षकी उर्मिला पहरी सहति ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको पनि लास भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए। 

अहिले काले पहरीको घरमा पुरिएका ३ जना र ९० वर्षकी एक वृद्धा महिलाको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेको उनले बताए। अविरल वर्षपछिको बढी पहिरोले गाउँपालिकाको ढोही खोलाको पक्की पुल, घट्टे खोलाको पक्की पुल र छाङ खोलामा बनेका हिम पाइप बगाएको स्थानीयले बताएका छन्।