जनतामा जानुको विकल्प छैन: अध्यक्ष प्रचण्ड

जनतामा जानुको विकल्प छैन: अध्यक्ष प्रचण्ड

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं सहिद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताए। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशङ्का जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन। मैले सदन र सडकबाट सङ्घर्षको विकल्प देखेको छैन।” उनले वर्तमान सत्तागठबन्धनको उद्देश्य गलत रहेको आरोप लगाए। सरकारमा रहेर हामीले जनताको पक्षमा प्रभावकारी रुपमा कार्यसम्पादन गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएको अध्यक्ष दाहालको भनाइ थियो।

पार्टीलाई थप सुदृढ बनाउनेतिर अगाडि बढेको र त्यसको परिणाम छिट्टै देखिने अध्यक्ष दाहालले बताए। स्पष्ट कार्ययोजनाका साथ पार्टीलाई एकताबद्ध गर्दै जनपरिचालनको गृहकार्य भइरहेको उनले उल्लेख गरे। भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा दृढतापूर्वक कदम चालिएका कारण आफ्नो नेतृत्वको सरकार विस्थापित गरिएको अध्यक्ष दाहालले बताए। नेपाली जनताले प्रष्ट रुपमा बुझेको उल्लेख गर्दै उनले भ्रष्टाचारकाविरुद्ध आफूहरु लगातार उभिने दृढता व्यक्त गरे। उनले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले सङ्घर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताए। 

अध्यक्ष दाहालले भने, “रामवृक्ष यादव मधेसी जनताको आन्दोलनको बीचबाट जन्मिएको लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय हुनुहुन्थ्यो। रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो। मधेसमा जनयुद्धको आधार तयार पार्न उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो।”

तत्कालीन एकता–केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादव २०५१ सालमा सहिद भएका थिए। कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव गिरिराजमणि पोखरेललगायतका नेताहरूको सहभागिता रहेको थियो।