कोकिनसहित दुईजना विदेशी पक्राउ

कोकिनसहित दुईजना विदेशी पक्राउ

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल प्रहरीले एक किलो चार सयग्राम कोकिनसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले अवैध रूपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वस्थित एक होटलमा बसेका तान्जेनियन नागरिक जुमाको झोलाभित्र लुकाएर राखेको ८० क्याप्सुल कोकिन बरामद गरेको छ। जुमाले उक्त कोकिन भारतीय नागरिकलाई बिक्री गर्ने क्रममा भारतीय नागरिकलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

बरामद कोकिनको अवैध बजार मूल्य करिब रु तीन करोड ८७ लाख हुन आउने ब्युरोले जनाएको छ। पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।