पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु

पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी (दरबाङ)। बागलुङको बडिगाड गाउँपालिका–१०, स्थित आरुपाटामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। घटनास्थलमा उद्धारमा खटिएका वडा अध्यक्ष वीरेन्द्रकुमार बुढा मगरका अनुसार मङ्गलबार बिहान बस्ती माथिबाट खसेको पहिरोले बस्ती छोपेपछि ठुलो क्षति भएको हो। उनका अनुसार पहिरोले दुई घर बगाउँदा पाँच जनाको ज्यान गएको हो। 

‘‘माथिबाट आएको पहिरोले स्थानीय बालिश्वर बुढाका दुई वटा घर बगाएको छ। अहिले घटनास्थलमा पाँच जनाको शव फेला परेको छ। अन्य केही घाइते अवस्थामा भेटिनुभएको छ भने केही बेपत्ताको खोजी भइरहेको छ’’, वडाध्यक्ष बुढा मगरले भने।

मृतक, घाइते र बेपत्ता भएकाको परिचय खुल्न सकेको छैन। घरमा कति जना मान्छे थिए भन्ने विवरण खुल्न नसकेको वडा अध्यक्ष बुढा मगरको भनाइ छ। आरुपाटा बागलुङको विकट गाउँ हो। 

गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीका अनुसार गाउँपालिका उपाध्यक्ष भीमसेन वनको नेतृत्वमा जनप्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी लगायतको टोली राहत सामग्री लिएर घटनास्थलतर्फ गएको छ। 

यसैगरी, वडा नम्बर ९ स्थित दर्लिङमा पहिरोले १५ वर्षीय विधान परियारको ज्यान गएको छ। घरमा पानी पसेपछि पानी छेक्न जाँदा पहिरोमा पुरिएर परियारको मृत्यु भएको गाउँपालिका अध्यक्ष गण्डकीले बताए। त्यसैगरी सोही ठाउँमा बाढीसहित आएको पहिरोले बगाउँदा गङ्गाबहादुर बस्नेतको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले घटनास्थलमा पुग्न अझै केही समय लाग्ने जानकारी दिए।