यी स्थानमा आगामी ३ दिन रातिको समयमा भारी वर्षा हुने,सर्तकता अपनाउन अपील

यी स्थानमा आगामी ३ दिन रातिको समयमा भारी वर्षा हुने,सर्तकता अपनाउन अपील

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कुनै-कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि अलि सक्रिय हुने बताए । ‘त्यसक्रममा आज, भोलि र पर्सि रातिको समयमा भारी वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘एक-दुई स्थानमा अति भारी वर्षा हुने पनि देखिन्छ ।’

मौसमविद् अधिकारीका अनुसार रातिको समयमा धेरै पानी पर्नु मनसुनको विशेषता नै हो । यसका धेरै कारणहरुमध्ये एउटा कारणबारे जानकारी दिँदै मौसमविद् अधिकारी भन्छन्, ‘अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावामा भएको पानीको मात्रा तापक्रम बढी हुँदा होल्ड हुने क्षमता बढी हुन्छ, राति तापक्रम घटेसँगै होल्डिङ क्षमता घट्छ र वर्षा हुन्छ ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानको आसपास नै छ । तर अघिल्लो दिनको तुलनामा मनसुनी गतिविधि केही सक्रिय हुने सम्भावना छ ।

गत १२ घण्टामा पनि बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ । सिन्धुपाल्चोक र लम्जुङमा अति भारी वर्षा भएको छ ।

गत १२ घण्टाको अवधिमा सिन्धुपाल्चोकको मानेखर्कमा १४१.६ र ढुंगेमा ११७ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी लम्जुङको बेसिंशहरमा १०२.४ र खुदीबजारमा १००.३ मिलिमिटर वर्षा मापन भएको छ ।

आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

मंगलबार राति भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।