सन्दीपविरुद्ध पुनरावेदन नगर्ने गौशाला २६ को निर्णय, महान्यायाधिवक्ता र सरकारी वकिललाई दिइन् निवेदन

सन्दीपविरुद्ध पुनरावेदन नगर्ने गौशाला २६ को निर्णय, महान्यायाधिवक्ता र सरकारी वकिललाई दिइन् निवेदन

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउँदै आएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् ।

उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन् ।

गौशालाले बुधबार महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएकी थिइन् भने आज उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन् । सरकारी वकिलमा दर्ता नम्बर ३३२ रहेको छ ।

हस्तलिखित निवेदनमा भनिएको छ, ‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए ।

लामो समयदेखि उक्त घटनाको कारण त्रासपूर्ण जीवन बाँच्दै आएको छु । मुद्दाको कारण म त्रासपूर्ण जीवन बाँच्दै आएकी छु । साथै यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा म अवगत थिइनँ ।

सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्नु मेरो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारबाही थप अगाडि नबढाउन आग्रह गर्छु ।

गौशाला २६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषि ठहर गरेको थियो । तर, सो फैसला उल्टाउँदै उच्च अदालतले सफाइ दिएको छ । गौशाला २६ ले चाहेमा उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्न सक्छिन् ।

फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ । गौशालाले आफ्नो निवेदनमा फैसलाको पूर्णपाठ आफूले अध्ययन गरिसकेको बताएकी छन् ।