असार बाटै धमाधम आउन थाले तीजका गीत

असार बाटै धमाधम आउन थाले तीजका गीत

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हरितालिका तीज पर्व आउन दुई महिनाभन्दा बढी समय बाकी रहँदा तीजका गीत धमाधम सार्वजनिक हुन थालेका छन् । पछिल्लो १० दिनमा मात्रै एक दर्जन तीजका गीत युट्युवमा रिलिज भैसकेका छन् ।

अहिल्यैदेखि तीजको सांगीतिक चहलपहल हेर्दा माहोल उत्साहप्रद हुने देखिन्छ । अघिल्ला वर्षमा आर्थिक मन्दीको असर तीज गीतको निर्माणमा देखिएको थियो । रिलिजको क्रम र निर्माणको तयारी हेर्दा, यसवर्ष तीज गीतको संख्यामा वृद्धि हुनसक्छ ।

यसवर्ष पहिलो तीज गीतको रुपमा गायिका समीक्षा अधिकारीले ‘बरि लै’ ल्याएकी छन् । मोहन खड्कासँग मिलेर समीक्षाले गाएको यो डान्सिङ ट्रयाक ‘आउन राजा, लैजाऊ मलाई’मा विमल अधिकारीले संगीत दिएका छन् । आस्मा विश्वकर्मा र विमल गीतमा फिचर्ड छन् ।

१० दिनअघि रिलिज भएको यो गीतलाई १२ लाख पटक हेरिएको छ ।

खेम सेञ्चुरी र हरिता परियारले ‘हेर्छौ लुकी लुकी’ बोलको तीज गीत ल्याएका छन् । रोशन परियारको संगीत रहेको यो गीतमा विमल अधिकारी, करिश्मा ढकाल फिचर्ड छन् ।

रेशम निर्दोष र सुनिता बुढा क्षेत्रीको गायनमा अर्को तीजको गीत ‘रहरैमा’ सार्वजनिक भएको छ । नयन शर्माद्धारा संगीतबद्ध गीतमा कल्पना क्षेत्री, राज श्रेष्ठ लगायतको नृत्य छ ।

खुमन अधिकारी र रमिला न्यौपानेले नयाँ तीजको गीत ‘हाम्रो पनि दिन आउला’ सार्वजनिक गरेका छन् । अधिकारीले नै संगीत दिएको गीतको भिडियोमा अभिषेक खड्का, सरिता ढुंगाना लगायत फिचर्ड छन् ।

शान्ता जीसी र प्रेम सापाकोटा सानुको नयाँ तीज गीत ‘सुनको बाला’ पनि सार्वजनिक भएको छ । समारिका दाहाल र विजय पुन फिचर्ड म्युजिक भिडियो छ ।

सन्तोष केसी, समीक्षा अधिकारी र राधिका हमालको अर्को तीज गीत ‘सहरिया छोरा बुहारी’ सार्वजनिक भएको छ । सन्तोष केसीद्वारा संगीतबद्ध गीतमा किरण केसी, अंशु महर्जन, पल्पसा डंगोल, कमल गाउँले र शारदा गिरीको अभिनय छ ।

तीजका गीतको मुख्य विशेषता नृत्यप्रधान हुनु हो । सार्वजनिक भएका सबै गीतमा छमछमी नाच्नका लागि विशेषगरि महिलालाई रुचिकर हुनसक्छ । सोहीअनुसार प्रस्तुत गीतको म्युजिक भिडियो तयार भएको छ ।

यति मात्र होइन, शान्तिश्री परियारसहित चलेका कलाकारले पनि तीज गीत ल्याउने तयारीमा रहेको बुझिएको छ । प्रायः तीज पर्वमा गीत सार्वजनिक गर्ने विष्णु माझीको गीत आउला त ? यो कुुरा धेरैका लागि चासोको विषय हुनसक्छ ।

तीज गीत धमाधम आउनुले नेपाली समाज अब क्रमशः तीज पर्वको मुडतिर अग्रसर रहेको अर्थमा बुझ्न सकिन्छ । यसवर्षको तीज पर्व भदौ २१ गते परेको छ ।