भरतपुरको क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने, ३० महिनामा सक्ने ठेक्का सम्झौता

भरतपुरको क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने, ३० महिनामा सक्ने ठेक्का सम्झौता

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढ्ने भएको छ । आज भरतपुर महानगरपालिकाले रंगशाला निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता गरेसँगै काम अघि बढ्ने भएको हो ।

महानगरले आज महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक जेभीबीच सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै निर्माण कार्य अघि बढ्ने भएको हो । महानगरका सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीका अनुसार महानगरले १ अर्ब २० करोड रुपैयाँको ठेक्का आह्वान गरेकोमा १२ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । तिमध्ये सबैभन्दा कम लागत ६८ करोड २ लाख ६४ हजार रुपैयाँमा ठेक्का प्रस्ताव दिने हिमालयन कालिञ्चोक जेभीसँग सम्झौता गरिएको महानगरले जनाएको छ ।

उसले यो बजेटबाट रंगशालाको मैदानसहित ५ वटा पीच, १५ हजार जना बस्न मिल्ने प्याराफिट, ड्रेन, २ वटा ३÷३ तल्लाको भिआईपी टावरलगायतका संरचनाहरू निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरिएको हो । रंगशालामा ५ हजार जना दर्शक अट्ने प्याराफिट बनिसकेको छ ।

गत फागुन १७ गते महानगरले ३० दिनको म्याद राखेर रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको थियो । तर एउटामात्रै कम्पनीले प्रस्ताव राखेपछि गरेपछि त्यो प्रक्रिया विवादित बन्यो । महानगरले उक्त प्रक्रियामा राखिएको रंगशाला निर्माण गरेको कम्पनीलाई मात्रै ठेक्का दिने भन्ने मापदण्ड हटाइ उक्त टेण्डर रद्ध गरेर जेठ ३ गते पुनः टेण्डर आह्वान गरेको थियो ।

दोस्रो पटक १ अर्ब १० करोड रूपैयाँको टेण्डर आह्वान गरिएको थियो । पछिल्लो टेण्डर प्रस्तावमा पहिलो पटक प्रस्ताव दिएको कम्पनीभन्दा १० लाख ७५ हजार कम प्रस्ताव पेश गरेको हिमालयन कालिञ्चोक जेभीसँग ठेक्का सम्झौता भएको महानगरले जनाएको छ ।

ठेक्का सम्झौता अनुसार ३० महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्नेछ । हिमालयन कालिञ्चोक जेभी प्रवन्ध निर्देश्क विकास गौतमले १५ दिनपछि रंगशाला निर्माणको काम थाल्ने बताएका छन् । उनले यो हप्ता व्यवस्थापनमा लागेर १५ दिनभित्रै काम थाल्ने बताए । ठेक्का अवधि ३० महिनाको भएपनि त्यसअघि नै काम सकिने गरि थालिने उनको भनाइ छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट अघि बढाउने भनेपनि रकम अभावका कारण रंगशाला अलपत्र परेको थियो । रंगशालाको काम ठप्प भएपछि भरतपुर महानगरपलिकाले स्वामित्व लिइ निर्माण प्रकृयाको बजेट सुनिश्चित गर्न पहल गरेको हो ।

रंगशाला निर्माण गर्न आगामी आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारले ५० करोड रूपैयाँ विनियोजन गरेको महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिएकी छिन् । भरतपुर महानगरपालिकाले पनि रंगशालाको अधुरो काम पुरा गर्न भनेर आगामी वर्षका लागि ४ करोड ३० लाख रूपैयाँ बजेट नगरसभाबाट स्वीकृत गरेको छ