घरभरी साङ्ला छन ? साङ्ला आतंकले निम्त्याउन सक्छ यस्तो जोखिम

घरभरी साङ्ला छन ? साङ्ला आतंकले निम्त्याउन सक्छ यस्तो जोखिम

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साङ्ला, अधिकांश  घरहरूमा भेटिने किरा हो । बर्खायाममा त यसले झनै फरकफरक ढंगले सताइरहको हुन्छ; खानामा, ओछ्यानमा, कुना कन्दरामा । नेपालमा मात्रै होइन, विश्वका जुनसुकै विकसित देश र जुनसुकै आधुनिक घरहरूमा समेत साङ्ला आतंक रहेको खबर बेलाबेलामा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा देखिन्छ ।

विभिन्न अध्ययनहरूले साङ्ला फैलिनुको मुख्य कारण खाने कुरा नै भएको देखाएका छन् । सन् २०२२ मा नेसनल लाइब्रेरी अफ मेडिसिनले हङकङको एक अपार्टमेन्टमा गरेको एक अध्ययनमा ८२ प्रतिशत परिवारमा साङ्लाले सताइरहेको पाइएको थियो । घरको तापक्रम, आद्रता आदिले पनि साङ्ला फैलिन थप मद्दत गर्ने अध्ययनमा उल्लेख छ ।

अपार्टमेन्टमा बस्ने मानिसरूमा सामान्य छालाको एलर्जीदेखि दमसम्मका स्वास्थ्य समस्याको मुख्य कारण साङ्ला रहेको अध्ययनले देखाएको थियो ।

नेपालमा साङ्लाको असर र यसले फैलाउने संक्रमणबारे खासै चर्चा हुँदैन । तर, बर्खायाममा अनेक संक्रमणजन्य रोग गराउने बताउँछन्, वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन ।

उनका अनुसार साङ्ला सामान्यतया फोहोरमा बस्ने भएकाले त्यही साङ्लो खानासम्म पुग्ने र  संक्रमणको जोखिम उच्च हुन्छ । फोहोरमा भएका माइक्रो कन्टामिनेसन खानामा सार्दा सबैभन्दा धेरै हैजाको जोखिम हुन्छ । 

यही प्रक्रियाले साङ्लाले मानिसमा आउँको जोखिम पनि निम्त्याउँछ । बर्खायाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आइपुग्ने अधिकांश बिरामीको सिजनल संक्रमणको कारण दूषित खाद्यान्न नै रहेको उनको अनुभव छ ।

संक्रमित पानी र खानाको प्रयोगले टाइफाइडको जोखिम पनि उच्च रहन्छ । फोहोरमा बसेको साङ्लाले टेकेर ल्याएको ब्याक्टेरिया तथा संक्रमण खानामा परेको अवस्थामा पनि टाइफाइडको सम्भावना रहने उनी बताउँछन् । 

शरीरमा साङ्ला बस्दा वा हिँड्दा छालाको एलर्जीका साथै विभिन्नखाले एलर्जीहरू देखिन सक्छन् । दमका बिरामीमा यस्तो समस्या झनै बढी हुन सक्ने डा. पुनको भनाइ छ ।

साङ्लाले विभिन्नखाले जुकाको अण्डासमेत वसारपसार गर्छ । खुट्टाले टेकेर ल्याएका अण्डा खानामा परेमा पेटमा जुका पर्न सक्छ । साङ्लाले विशेषगरी भान्साका खाने कुरा र फोहोरमा भेटिएका खानासमेत उपभोग गर्छ । 

यसरी फोहोरमा बसेर आएको साङ्लाले छोएमात्र वा खानामा हिँडेमात्रै पनि दूषित हुन्छ । यसले सतहमा रहेका सामान जस्तै भाँडाकुँडा, नपकाइएका तरकारी, फलफूलमा मात्रै हिँड्दा पनि संक्रमणको जोखिम रहने डा. पुनको भनाइ छ । 

साङ्ला मार्नलाई विभिन्न स्प्रे, जेल धुलो औषधि, चकलगायत प्रयोग गर्ने गरेको पाइन्छ । विश्वव्यापी समस्या बनेको साङ्ला आतंक हटाउने सफल प्रविधि यही भन्ने हालसम्म यकिन भएको पाइँदैन ।

तर, एकपटक प्रभावकारी उपायबाट साङ्ला हटाएपछि पटकपटक आउन नदिन केही उपाय अपनाउन सकिन्छ । साङ्लाले कुनाकाप्चा र फर्निचरका जोइन्टहरूमा अण्डा पार्ने हुँदा यस्ता ठाउमा विषादीको प्रयोग गरी राम्रोसँग सफा गर्नुपर्छ ।

भान्सामा खानेकुरा सकेसम्म नपोख्ने र पोखिहाले पनि तत्काल सफा गर्ने गर्नुपर्छ । र्‍याक, दराजहरूमा भएका ग्याप पूर्ण रूपले पुर्नुपर्छ । पछिल्लो समय विभिन्न सहरमा साङ्ला नष्ट गर्ने प्राविधिक टोलीसमेत उपलब्ध छन् । तर, एकपटक निर्मूल गरेपछि फर्किन नदिने प्रमुख उपाय सरसफाइ नै हो ।